पृष्ठभूमी ः
विभिन्न किसिमका प्राकृतिक प्रकोप र दुर्घटनाजन्य घटनाका कारण सिर्जना हुने मानवीय संकटलाई बिपद् भनेर बुझिन्छ । कतिपय समयमा विभिन्न खालका प्राकतिक प्रकोपहरु आउँदा त्यसको पूर्व तयारी तथा प्रकोपपछि उत्पन्न हुने समस्याको बारेमा ख्याल नगरिँदा अकल्पनीय परिस्थिति सिर्जना हुने र त्यसबाट मानवीय जीवनमा झनै अप्ठेरो स्थिति सिर्जना हुने गर्दछ । बाढी, पहिरो, भूकम्प, आगलागी आदि जस्ता प्रकोपहरु जुन पूर्वानुमान गर्न सकिँदैन । यस्ता प्रकोपको समयमा र प्रकोपपछि आउनसक्ने परिस्थितिलाई उचित व्यवस्थापन गर्न पूर्वतयारी तथा आधारभूत सीपहरुको विकास सबैमा हुनु आवश्यक छ ।
विद्यालय बालबालिकाहरुको जमघट हुने क्षेत्र हो । यस्तो क्षेत्रमा बिपद् व्यवस्थापन र जोखिम न्यूनीकरण एउटा प्रमुख विषय हो किनकी शारीरिक र मानसिक रुपमा सबल भइ नसकेका बालबालिकालाई सीमित संख्यामा रहेका शिक्षकको निगरानीमा राखिने र प्राकृतिक प्रकोपको अवस्थामा उनीहरुलाई सुरक्षित र भयरहित राख्न बिपद् व्यवस्थापन सम्बन्धी सीपहरु शिक्षक तथा विद्यार्थीहरुमा हुनु अत्यावश्यक छ ।
सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका वडा नं. २ (साविकको तालामाराञ गा.वि.स. वडा नं. ७) मा रेहको यस श्री तेर्से उच्च माध्यमिक विद्यालय तालामाराञ खोला र मेलम्ची खोलाको दोभान तथा किनार नजिक, पहाडको तल्लो भागमा रहेको हुँदा बाढी र पहिरोको जोखिम उच्च रहेको छ । यसका साथै गत २०७२ साल बैशाखको विनासकारी भुकम्पका बारेमा समेत स्मरण गर्ने हो भने उक्त समयमा यदि विद्यालय सञ्चालन भइरहेको भए भौतिक संरचना भत्कँदा त्यसले पार्ने मानवीय क्षतीको आँकलनले पनि सम्भावित जोखिमका अनेक खतराहरु अनुमान गर्न सकिन्छ । यसै सन्दर्भमा आगामी दिनमा विद्यालय क्षेत्रमा हुन सक्ने प्राकृतिक प्रकोप र त्यसले विद्यालयमा अध्ययनरत बालबालिकामा पार्न सक्ने असरलाई ध्यानमा राखेर दातृसंस्थाको सहयोगमा विपद् व्यवस्थापन तथा जोखिम न्यूनीकरण सम्बन्धी आवधिक कार्ययोजना तयार गरी कार्यान्वयन गर्ने उदेश्यले यो प्रारम्भिक कार्ययोजना प्रस्ताव गरिएको हो ।
कार्यक्रमको उद्देश्यः
विद्यालयमा सञ्चालन गरिने तीन वर्र्षे बिपद् व्यवस्थापन तथा जोखिम न्यूनीकरण सम्बन्धी आवधिक योजनाको उद्देश्य देहाय अनुसार हुनेछन् ः
क) विभिन्न प्रकारका प्राकृतिक प्रकोपबाट बच्न विद्यार्थी तथा शिक्षकलाई पूर्व तयारीको सीप विकास गर्ने ।
ख) बिपद् पश्चात आइपर्ने समस्याहरुको बारेमा अभिमुखिकरण गरी ती सम्स्या समाधान गर्ने सीप विद्यार्थीमा प्रदान गर्ने ।
ग) जोखिमयुक्त क्षेत्रहरुको पहिचान गरी त्यस्ता स्थलहरुको सुरक्षा र व्यवस्थापन गर्ने ।
घ) विद्यार्थीको माध्यमबाट समुदायस्तरसम्म बिपद् व्यवस्थापन र जोखिम न्यनीकरण् सम्बन्धी सीपहरुहरु बिस्तार गर्ने ।
ञ) विद्यालय क्षेत्रलाई जोखिमुक्त बनाई विद्यार्थी तथा अभिभावकमा पर्नसक्ने मनोवैज्ञानिक त्रासलाई न्यूनिकरण गर्ने ।
कार्यक्रमको ढाँचाः
विद्यालयले सञ्चालन गर्ने बिपद् व्यवस्थापन तथा जोखिम न्यूनिरकण सम्बन्धी कार्यक्रमलाई तिन चरणमा सम्पन्न गरिने छ । जस अनुसार पहिलो चरणमा सचेतना अभिवृत्ति, दाश्रो चरणमा, सीप विकास र अन्तिम चरणमा जोखिममुक्त क्षेत्र निर्माण हुनेछन् । जस अन्तर्गत निम्न कार्यहरुलाई समेटी बिस्तृत कार्यक्रम तय गरिने छ ।
पहिलो चरण दाश्रो चरण तेस्रो चरण
पहिलो एक वर्ष सञ्चालन हुने यो चरणको कार्यक्रम अन्तर्गत निम्न कार्यक्रमहरु समावेश गरिनेछ ।
क) विपद्, यसको असर, व्यवस्थापन प्रक्रिया आदि सम्बन्धमा विद्यालय स्तरमा विभिन्न अतिरिक्त क्रियाकलाप सञ्चालन
ख) शिक्षक तालिम, बाल क्लबमार्फत अभियान सञ्चालनमा सहजीकरण,
ग) जोखिम व्यवस्थापन सम्बन्धी विद्यार्थी कार्यशाला सञ्चालन
घ) विद्यार्थी मार्फत अभिभावक सचेतना र पूर्वतयारी सम्बन्धमा अभिमुखिकरण
ञ) बिपद् व्यवस्थापनका लागि आवश्यक आधारभूत सामग्रीको सुरक्षित व्यवस्था र भण्डारण दोश्रो वर्ष सञ्चालन हुने यो चरणको कार्यक्रम अन्तर्गत निम्न कार्यक्रमहरु समावेश हुनेछन् ।
क) कार्यशालाको माध्यमबाट विद्यार्थीमा विपद्को पूर्व तयारीको अभ्यास
ख) शिक्षकहरुलाई कार्यमूलक तालिम
ग) विद्यालय स्तरमा वा विद्यालयमा असर पर्ने गरी अन्य स्थानमा कुनै प्रकोप भइ हालेमा सोको सूचना विद्यालयमा प्रवाह गर्ने प्रणालीको व्यवस्था
घ) वि.व्य.स.का पदाधिकारी, अभिभावक सम्म बिपद् व्यवस्थापन सीपहरु विकास गर्न विद्यार्थी मार्फत अभियान सञ्चालन
ञ) विद्यालयक्षेत्रको जोखिमयुक्त अवस्था पहिचान र तिनको जोखिम न्यूनीकरणका लागि आधारभुत कार्यहरु सञ्चालन तेस्रो वर्ष सञ्चालन हुने यो चरणको कार्यक्रम अन्तर्गत निम्न कार्यक्रमहरु समावेश गरिनेछन् ।
क) शिक्षक तथा विद्यार्थी एवं विद्यालय नजिकको समुदाय स्तरमा जोखिम न्यूनिरणसम्बन्धी सीपहरुको थप विकास
ख) जोखिमयुक्त क्षेत्रहरुको पहिचान गरी जोखिम गर्न गर्न आवश्यक ठोस कार्य सञ्चालन
ग) नदी तटबन्द निर्माण, सुरक्षित विद्यालय हाता निर्माण, स्थायी सूचना प्रणाली केन्द्र स्थापना, जोखिम रहित स्थलको घोषणा
घ) आपत्कालिन उद्दार तथा सहायता सामग्रीको व्यवस्थापन र बिपद् व्यवस्थापन कोष स्थापना
उपर्युक्त कार्यक्रमहरुको बजेट, जिम्मेवारी, कार्यसञ्चालन प्रक्रिया जस्ता कुराहरु सम्बन्धमा विद्यालय व्यवस्थापन समिति, शिक्षक तथा कर्मचारी विद्यार्थी प्रतिनिधि र अभिभावक प्रतिनिधिहरु समेतको सहभागितामा बिस्तृत रुपमा कायक्रमिक योजना तयार गरी कार्यान्वयन गरिनेछ ।
कार्यक्रम कार्यान्वयन रणनीति ः
विद्यालयले सञ्चालन गर्ने बिपद् व्यवस्थापन तथा जोखिम न्युनिरकण सम्बन्धी कार्यक्रम मुख्यतः विद्यालयमा अध्ययनरत बालकालिकामा केन्द्रित हुनेछन् । बालबालिकालाई सुरक्षित र भयरहित वातावरणमा सिकाइ गर्ने विद्यालयको उद्देश्य रहेको हुँदा उनीहरुलाई नै परिचालन गरी कार्यक्रम सञ्चालन गरिनेछ । शिक्षक तथा कर्मचारी बालबालिकासँग प्रत्यक्ष सम्बन्धित हुने हुनाले उनीहरुलाई समेत लक्षित गरेर कार्यक्रम सञ्चालन गरिने छ । बालबालिका मार्फत दिइएको सीप तथा चेतनाको प्रभाव समुदाय स्तरमा दीर्घकालिन रुपमा पर्ने हुनाले उनीहरुमार्फत नै शिक्षकहरुको सहजीकरणमा बिपद् व्यवस्थापन सम्बन्धी कार्यक्रम सञ्चालन गरी समुदायमा समेत बिपद् ब्यवस्थापन र जोखिक न्यूनीकरण्को प्रक्रिया अपनाउने वातावरण तयार गर्न मद्दत पुग्नेगरी कार्यक्रम कार्यान्वयन गर्ने रणनीति अबलम्बन गरिने छ ।
कार्यक्रमको अपेक्षित उपलब्धीः
बिपद् व्यवस्थापन सम्बन्धी विद्यालयमा सञ्चालन गरिने आवधिक कार्यक्रमको अपेक्षित उपलब्धी निम्न अनुसार तय गरिएको छ ।
क) विभिन्न प्रकृतिक प्रकोपका क्रममा पर्न सक्ने जोखिमलाई न्यूनीकरण गर्न शिक्षक तथा विद्यार्थीमा आवश्यक सीपहरुको विकास,
ख) बिपद् व्यवस्थापनमा विद्यालयको कार्यकुशलतामा बृद्धि
ग) विद्यालय क्षेत्र जोखिममुक्त भई बालबालिकाहरुमा भयरहित शिक्षण वातावरणको सिर्जना,
घ) विपद् व्यवस्थापनमा पूर्वतयारी तथा बिपद् पछिको सम्भावित खतराबाट सुरक्षित हुन आवश्यक बन्दोबस्ती क्षमतामा विकास ।
निश्कर्ष ः
बिपद् व्यवस्थापन तथा जोखिम न्यूनीकरण सम्बन्धमा सञ्चालन गरिने कार्यक्रम पूर्णतः बालबालिका केन्द्रित हुनुपर्दछ । भयरहित र सुरक्षित वातावरणमा गरिने शैक्षिक क्रियाकलाप मात्र प्रभावकारी हुन सक्छन् । तसर्थ गत बैशाख १२ को भुकम्पले पुर्याएको क्षतिको पाठ सिक्दै त्यसबाट बालबालिकामा पर्न गएको मानसिक असरलाई पाठको लिएर आगामी दिनमा यी र यस्तै खालका प्रकोपहरुबाट बालबालिकालाई सुरक्षित गर्नु विद्यालयको दायित्व हो । यसै कुरालाई ध्यानमा राखि उक्त कार्यक्रम सञ्चालन हुनेछ । साथसाथै शिक्षक, बालबालिका र बालबालिकासँग सम्बन्ध राख्ने सबै पक्षलाई बिपद् व्यवस्थापन सम्बन्धी आधारभुत सीपको विकास गर्न कार्यक्रम उपयोगी सिद्ध हुनेछ ।
समाप्त
- Krishna Dhungana
0 comments :
Post a Comment
Thank you for your creative comment.