कार्यमूलक अनुसन्धान प्रतिवेदन

कृष्ण ढुंगाना,                  .

पारिवारिक कारणले विद्यालय छाड्ने निर्णयमा पुगेको विद्यार्थीलाई विद्यालयमा नियमित गराउन गरिएको एक
कार्यमूलक अनुसन्धान प्रतिवेदन :                                  .



अनुसन्धानको पृष्ठभूमिः 

विद्यार्थीले विद्यालय छाड्नुको दोष स्वयं विद्यार्थीलाई नै दिएर अन्य पक्षप्रति चासो नदिने प्रवृत्ति प्रसस्तै छ । उनीहरु विभिन्न पारिवारिक, सामाजिक आदि कारणले विद्यालय छाड्न पुग्छन् भन्ने तर्फ कमैको मात्र ध्यान पुगेको देखिन्छ । आफ्नो विद्यालयमा पनि यसरी बिचमै विद्यालय छाड्ने विद्यार्थीहरुको संख्याउल्ल्ेख्य रहेकोले यसै विषयमा कार्यमूलक अनुसन्धान गर्ने सोच बढ्यो । 
विद्यालयले विगतका वर्षहरुमा झैं विद्यालयले आयोजना गरेको घरदैलो अभियानका क्रममा म आफ्ना एकजना सहकर्मी शिक्षकका साथ विद्यार्थीहरुको पारिवारिक, आर्थिक र शैक्षिक अवस्थाका बारेमा बुझ्न उनीहरुको घरघरमा गएको थिएँ । घरदैलो अभियानका क्रममा हामीले जिम्मेवारी पाएको क्षेत्रमा जाने क्रममा एक जना विद्यार्थीको पारिवारिक अवस्थाको बारेमा हामीले उनको मिल्ने एकजना साथी मार्फत धेरै कुराको जानकारी पायौं । उनी विद्यालय आउन छाडेको ५ दिन भइसकेको हुँदा मलाई उनको बारेमा यस अघि नै चासो बढेको थियो । मेरो मनमा उठ्यो कि अब उनको घरमा गएर उनलाई नियमित विद्यालय ल्याउन कसरी सकिन्छ । यही विषयले मेरो मष्तिष्कमा घर बनाइरह्यो । सहकर्मी शिक्षकका साथ म उनको घरमा पुगें अनि आफैंले उनका विषयमा सबै कुराको बारेमा जानकारी लिइ उनलाई विद्यालयमा नियमित कसरी गराउन सकिन्छ भनेर सोच्दै यो कार्यमूलक अनुसन्धानको प्रक्रियालाई अगाडी बढाइएको हो ।  
पहिलो चरण
१. योजना ः 
पाँच दिनदेखि विद्यालय आउन छाडेकी छात्राको पारिबारिक अवस्था विश्लेषण गरी सोही अनुसार परामर्श गरी उनलाई नियमित विद्यालय आउन सक्ने वातावरण तयार गर्ने ।
२. क्रियाकलाप ः 
विद्यालयमा यसै वर्ष मात्र अर्को विद्यालयबाट कक्षा ८ उत्तीर्ण गरी कक्षा ९ मा विद्यालयमा भर्ना हुन आएकी नेमो सान्मो लामाको घरमा जब म र सहकर्मी शिक्षिका सहितदुई जना त्यहाँ पुग्यौं त्यस अघि नै उनको साथी मार्फत थाहा भइसकेको थियो कि उनी पढाइ छाड्ने चरणमा पुगिसकेको र ५ दिनदेखि विद्यालय गएकी पनि थिइनन् । हामी पुग्दा उनको घरमा उनी मात्र थिइन् । हामीलाई देखेपछि उनी केही लज्जीत हुँदै तल आइन् । हामीले उनलाई बस्न र लाज नमानीकन बोल्न सहजीकरण गर्यौं । उनलाई सोध्यौं स्कुल नगएको ५ दिन भएछ नि किन, के समस्या पर्यो घरमा ? उनले मलिन स्वर बनाएर ममी बिरामी हुनुहुन्थ्यो घरमा भैसीलाई घाँसपानी गर्ने कोही थिएन त्यसैले नगएको उनले बताइन् । पल्लोघरबाट उनको हजुरआमा आउनुभयो अनि हामीले हजुरआमासँग उनको र परिवारको बिबिध कुराहरु सोधीखोजी गर्यौं । मैले आफु र निज नेमो सान्मोको बुबा सुन लामा सँगसँगै मानेभञ्ज्याञ स्कूलमा कक्षा ५ सम्म पढेको कुरा बताएपछि उहाँले धेरै कुराहरु खुलेर गर्नु भयो सायद आफ्नै छोरो जस्तै ठानेर होला । 
अवस्था बुझदा केही समय अगाडीदेखि नेमो को बुबा सुनलामाको केही मानसिक समस्या सुरुभएको रहेछ । सोको उपचार गर्ने विषयमा कुरा हुँदा हुँदै २ महिना अगाडी उनले विष सेवन गरी आत्महत्या गरे । घरमा उनकी आमा, एउटा दाजु जो काडमाडौंमा बस्छन् र एउटा कक्षा ३ मा पढ्ने भाइ गरी ४ जना छन् । आमाको नेतृत्वमा घर चलाउने बाध्यताको सुरुवात भयो बिगत २ महिनादेखि । अमालाई ग्याँस्टिकले निकै चापेको हुँदा बिरामी भइरहने समस्या । अब घरमा केही काम गर्न सक्ने केबल नेमो मात्र । उनको हजुरआमाबाट यो थाहा भयो कि विद्यालय नगएको ५ दिनको पहिलो दिन उनलाई स्कूल जाऊ भनेर उनको आमा र हजुर आमाले भन्दा लामो समय आँगनको छेउमा उभिएर रोएर बसेको कुरा थाहा भयो । अगाडी दिनहरुमा पनि उनको यस्तै व्यवहार हुने गरेको तथ्य पनि हामीले थाहा पायौं । हाम्रो ध्यान अब त्यही विषयमा खोजिनीति गर्ने तर्फ गयो । हामीले उनलाई सोध्यौं ः तिमीलाई स्कूल जाने, पढ्ने विषयमा के भएको छ, तिम्रो समस्या के हो ? उनले आफ्ना सबै कुरा राख्दै गइन् । उनले भनिन् ः “मलाई स्कुल जान इच्छा त छ तर घरमा बुबा पनि नभएको, आमा सधैं विरामी भइरहने त्यसले गर्दा आफूलाई मन थाम्न गाह्रो हुन्छ । आफ्नो व्यथा र बुबाको यादले होला ममी बेलुका सधैं रोएको देख्छु अनि मेरो मन कस्तो कस्तो हुन्छ । बुबाको त माया पाइएन नै आमाको पनि नपाउने हो की भन्ने कुरा मनले सोच्छ । खेतीपाती भैंसी बाख्रा कसले हेर्ने, कसरी सबै कुराको जोहो गर्ने सम्झदा कता कता भारी हुन्छ । कहिले काँही आमाले तँ पनि पढ्न जाने, भाइ सानो दाजु काडमाडौंमा मैले कसरी घरको काम धान्ने त्यस माथी सधैं बिरामी भनेर भन्नुहुन्छ । त्यसले गर्दा मलाई मैले पढाइ कहिले सम्म गर्न सक्छु र पढेर पो के गर्नु र भन्ने जस्तो लाग्छ । पढाइका कुरा भन्दा घरका कुराले मात्र दिमागलाई सताउँछ ।” 
उनका यस्तै यस्तै गुनासाहरु सुन्दै जाँदा त्यतिबेला सम्म उनको हजुरआमा र उनीबीच छलफल गरिरहेका थियौं । उनको आमा दाउरा काट्ने खातालासँग बारीमा गएको हुनाले उहाँसँग पनि कुरा गर्ने बिचार उठ्यो । केही बेर पर्खिएपछि उहाँ आइपुग्नु भयो । उहाँसँग सबै कुरा गर्यौं । उहाँले पनि स्वीकार गर्नुभयो किः छोरीले बेला बेला चिन्ता मानिरहेको अनि स्कूल जानेबेला आँगनमा उभिएर रोइरहेको । “खेतबारी त खान लाउन पुग्ने नै छ । तर गर्ने मान्छे र मिलाउने मान्छे नहुँदा त्यसले काम गर्दो रहेनछ । ” यही गुनासो उहाँले पोख्नु भयो । 
हामीलाई प्रष्ट भयो त्यहाँ नेमोमा आत्म विश्वास जागृत गर्नु आवश्यक छ । उनको आमामा पनि त्यस्तै आत्मविश्वासको खाँचो छ । आखिर जे हुनु त भैसक्यो । भइसकेको कुरालाई लिएर चिन्ता गर्ने होइन अब बाँकीले कसरी के गर्ने भन्ने बारेमा सोच्नु पर्छ । चिन्तालाई सकेसम्म बिर्सन कोसिस गर्नुपर्छ भनेर सम्झाउन खोज्यौं । यतिसम्मको छलफल चलिरहदाँ त्यहाँ टोलभरीका मान्छेहरु लगभग ८,१० जना जम्मा भइसकेको थिए । सबैमा सहानुभतिको भाव थियो । पढाइ छाडिन् भने केही समयमा नेमोले बिहे गर्लिन् । आखिर आमालाई त उस्तै त हो घरको काम भन्ने आवाज उनको ठूलोबुबाबाट उठ्यो । त्यसले हामीलाई एउटा गतिलो तर्क सहित उनको आमालाई सम्झाउने आधार बन्यो र हामीले उनको आमालाई भन्यौं । नेमोले यस वर्ष पढाइ छाडिन् भने उनको बिहे हुने पक्का छ । सधैं उनी त यही घरमा बस्न सामाजिक हिसाबले पनि सक्दिनन् । जसरी पनि तपाई उनको कामबाट त टाढिने नै हो त्यसकारण उसलाई पढ्न नै पठाउनु भयो भने उनले अहिले पाउने घर र पढाइपछि पाउने घरमा धेरै फरक हुन्छ । अहिले विदेश जानु पर्यो, शहर जानु पर्यो भने पनि पढाइ लेखाइ राम्रै भए मात्र सजिलो हुन्छ । छोरीको बिहे भइसक्यो ठानेर भने पनि छोरीलाई घरको काममा आशा नगर्नुस् । यस्तै यस्तै भन्दै गयौं । बीचमा उनकी आमाले थप्नु भयो भन्न त छोराले पनि भैंसी नपाल, खेती पनि नसक्ने जति बाँझै होस् । खान पुग्ने मात्र गरौं । बहिनी पढ्न जाओस् भनेको छ । हामीले पनि यही कुरा उचित देख्यौ । नेमोको पढाइका लागि यसरी नै घरको व्यवस्था मिलाउने सल्लाह हामीले दियोैं । 
सबै छलफल भइसके पछि फेरी नेमोको धारणा लिने काम भयो । उनले घरबाट आउन जान २ घण्टा भन्दा बढीलाग्छ । अब अर्को महिनाबाट तल कोठा मिलाउन पाए सजिलो हुन्थ्यो । मलाई पढने इच्छा मरेको छैन । आइतबारबाट नियमित स्कुल आउँछु । ५ दिन छुटेकोमा चाँही कक्षा शिक्षक विज्ञान सरसँग कुरा गरिदिनुहोला भनिन् । हामीले पनि उनलाई पढाइ हुँदा र नहुँदाको जीवनका बारेमा सम्झाउने प्रयत्न गर्यौं र उनलाई निर्धक्क भएर स्कूल आउन े विषयमा पनि विद्यालयले सहयोग गर्ने, स्कूलमा तिर्ने फि र अन्य कुनै सामग्रीको कारण समस्या परेमा हामीलाई खुलेर भन पैसाको कारण तेर्से माविमा पढ्न रोकिने छैन भनेर विद्यालयको तर्फबाट प्रतिवद्धता गर्यौं । पढाइ छाड्नै पर्ने अवस्था आएमा कमसेकम एकपटक फोन मात्रै भनेपनि गर समाधान पक्कै पहिल्याउन सकिन्छ भनी आफ्नो फोन नं. समेत टिपायौं ।  
लक्षित छात्रा नेमो सान्मो लामाको घरायसी सबै अवस्थाको बारेमा जानकारी लिने काम भयो । यसका आधारमा उनको परिस्थितिलाई अध्ययन र विश्लेषण गर्दा उनका आत्मविश्वासको कमी भएको महसुस भयो । पढाई कुनै हालतमा नछोड्न र छोड्नै पर्ने परिस्थिति सिर्जना भएमा त्यस अघि परिस्थितिका बारेमा जानकारी दिन अनुरोध गरियो । यसबाट उनमा विद्यालय नियमित रुपमा आउने सोच बढेको पाइयो र हामी त्यहाँबाट फर्कियौं । 
३. अवलोकनः 
उक्त दिन विद्यार्थीको बारेमा सबै बुझेर उनको समस्यामा सान्त्वना दिइ आत्मविश्वास र मनोबल बढाउने प्रयत्न भउको पछि भोली पल्ट शनिबार परेकोले पर्सीपल्ट आइतबार विद्यालय गएर उनी आए नआएको बुझियो । कक्षाकोठामा हेर्दा उनी आफ्नो छिमेकी साथीसँग बसेको दखियो यसपछि उनलाई मैले व्यक्तिगत रुपमा केही समस्या छ भनेर सोध्दा उनीले कुनै समस्या नभएको ब्यहोरा बताइन् । केही दिनसम्म मैले उनको विद्यालयमा हुने नियमितता बारेमा बेलाबेलामा जानरकारी पनि लिँदै गरेको थिएँ । पहिलो त्रैमासिक परीक्षामा राम्रैसँग सहभागी भइ लगातार विद्यालय आएको पाइयो । पढाइमा उत्साह बढ्नुका साथै उनले विद्यालयले आयोजना गरेको अतिरिक्त क्रियाकलापहरुमा पनि सक्रियतापूर्वक सहभागिता देखाएको पाइयो । 
४. प्रतिबिम्बन ः 
विद्याथीहरु बिबिध पारिबारिक, आर्थिक तथा अन्य व्यवहारिक कारणले गर्दा नियमित विद्यालय नआउने र आइहालेपनि बीचमै पढाइ छाड्ने प्रबृत्ति हाम्रा विद्यालयहरुमा धरै छ । यदि उनीहरुको अवस्थाको बारेमा शिक्षकले जानकारी लिइ त्यसका लागि उनको समस्यामा साहनुभुति दिँदै उनीहरुको आत्मविश्वास र मनोबल बढाउन सकेको खण्डमा उनीहरलाई नियमित विद्यालय आउने वातावरण तयार गर्न सकिन्छ । 

निश्कर्ष ः 
प्रस्तुत कार्यमूलक अनुसन्धानमा पहिलो चरणको क्रियाकलाप सम्पन्न गर्दा उक्त विद्यालय छाडिसकेको विद्यार्थी नियमित विद्यालय आउन थालेको र उसले कक्षामा देखाउने शैक्षिक व्यवहार पनि उत्साहजनक देखिएको हुँदा यो अनुसन्धान सफल भएकोले पुनर्योजनाको प्रक्रिया अगाडी बढाउन आवश्यक देखिएन । विद्यार्थीहरु विभिन्न पारिवारिक पृष्ठभूमिबाट आएका हुन्छन् । उनिहरु मध्ये कतिपय बीचमै पढाइ छाढ्ने समेत गरेका हुन्छ तर किन पढाई छाडे भन्ने कुरालाई नजिकबाट बुझेर त्यसको मनोवैज्ञानिक उपचार गर्नु एउटा प्रभावकारी शिक्षकको जिम्मेवारी हो । यसरी उनीहरुको विभिन्न पक्षहरुको बारेमा जानकारी लिइ उनीहरुमा रहेको समस्याका बारेमा शिक्षकले बुझेर उसलाई उचित व्यवहार र मनोवैज्ञानिक उपचार गर्न सकेको खण्डमा उसले बीचमै पढाई छाड्ने वा विद्यालय नै नजाने सम्स्यालाई समाधान गर्न सकिन्छ भन्ने निश्कर्ष यस अनुसन्धानले दिएको छ । 

समाप्त

Comments

  1. सरहानिय कामका लागि धन्यवाद कृष्ण सर

    ReplyDelete
  2. Hello sir action research ko aru topic haru Pani halidinuna

    ReplyDelete
  3. धेरै राम्रो काम🙏🙏🙏

    ReplyDelete

Post a Comment

Thank you for your creative comment.

Popular posts from this blog

माध्यमिक विद्यालय (कक्षा ९) स्तरीय शैक्षिक भ्रमण प्रतिवेदन २०६९

विद्यार्थीलाई नियमित गृहकार्य गराउन कसरी सकिएला भन्ने विषयमा गरिएको कार्यमूलक अनुसन्धान प्रतिवेदन