प्रारम्भिक बालविकास केन्द्र र यसको औचित्य

बालबालिकाको पहिलो पाठशाला घर हो जहाँ उनीहरुले परिवारका सदस्य एवं अग्रजबाट सिकाइ प्रारम्भ गर्दछन् । विद्यालय बालबालिकाको दोश्रो पाठशाला हो । जब ऊ ५ वर्षको हुन्छ, त्यसपछि उसलाई विद्यालयको प्राथमिक तहमा भर्ना हुन योग्य मानिन्छ । प्राथमिक तहको कक्षा १ मा भर्ना हुनासाथ पाठ्यक्रमले राखेका उद्देश्य प्राप्त गर्न उचित क्षमताको विकास उसमा हुन सकेको हुँदैन । त्यसकारण बालबालिकालाई विद्यालयमा भर्ना हुनुपूर्व पूर्वतयारी गराउन पूर्व प्राथमिक तहको रुपमा नेपाल सरकारले प्रारम्भिक बालविकास केन्द्रको अवधारणा ल्याएको हो । ३ देखि ५ वर्ष मुनिका बालबालिकाहरु यस्ता केन्द्रहरुमा भर्ना गरी उनीहरुलाई विभिन्न व्यवहारहरु सिकाएर प्राथमिक तहमा भर्ना हुन योग्य बनाउने प्रयास गर्नु प्रारम्भिक बालविकास केन्द्रको मूल उद्देश्य हो । यस्ता केन्द्रहरु समुदायमा आधारित र विद्यालयमा आधारित गरी दुई तरिकाले सञ्चालन गरिएका पाइन्छन् । यस विद्यालयले पनि उल्लेखित उद्देश्यलाई पूरा गर्न बिगत ३ वर्षदेखि प्रारम्भिक बालविकास केन्द्र सञ्चालन गर्दै आइरहेको छ । 

बालविकास केन्द्रमा आउने बालबालिकाहरु कलिलो मस्तिष्क बोकी आएका हुन्छन् । उनीहरुलाई उचित वातावरण दिएर उपयुक्त क्रियाकलापमा सहभागी गराई विभिन्न व्यवहार र धारणाहरु सिकाउनु पर्ने हुन्छ । यसका लागि उचित वातावरण र व्यवहार जरुरी हुन्छ । उनीहरुको शारीरिक, मानसिक र संवेगात्मक तीनै पक्षमा उचित ध्यान दिन सकिएन भने उनीहरुको भविष्य फरक बाटोतर्फ लाग्न सक्ने हुनाले यसलाई सबै पक्षले गम्भीरतापूर्वक सोच्नु आवश्यक छ । बालविकास केन्द्रमा बालबालिकाले भविष्यमा जान्नु र सिक्नु पर्ने धेरै विषयवस्तुहरुका धारणाहरुलाई गीत, खेल, कथा, चित्र, नाटक, अभिनय, कुराकानी, अवलोकन जस्ता विभिन्न क्रियाकलापहरुको माध्यमबाट सिक्दछन् । सानै उमेरमा अवधारणा स्पष्ट भएमा पछि गएर बालबालिकाले विद्यालयमा सिकाउने कुनै पनि विषयलाई राम्रोसँग बुझ्दछन् । बालविकास केन्द्रले विद्यालय जाने बानीको विकास गर्नुका साथसाथै बीचैमा विद्यालय छाड्ने प्रवृत्तिलाई पनि कम गर्न सक्छ किनकि उनीहरु विद्यालयमा गई रमाएर सिक्ने कुरामा अभ्यस्त भइसकेका हुन्छन् । केन्द्रमा शिशुको मानसिक, शारीरिक, संवेगात्मक र सामाजिक व्यवहारहरुको विकासका लागि अवसर प्रदान गरिन्छ । बालविकास केन्द्रको मुख्य लक्ष्य भनेकै ३ देखि ५ वर्ष मुनिका बालबालिकाहरुको सर्वाङ्गीण विकासको आधार सुनिश्चित गरी प्राथमिक शिक्षाको लागि तयार गर्नु हो । केन्द्रमा आएका बालबालिकालाई आफूप्रतिको आत्मविश्वास जगाउन, परिवर्तित समाज र अन्य व्यक्तिहरुप्रति सकारात्मक सोच विकास गर्न, चुनौती, बाधा र सफलतामा संवेगात्मक सन्तुलन कायम गर्ने कार्यमा मद्दत पु¥याउनुका साथै सामाजिक र व्यावहारिक मूल्य मान्यताको आधारमा व्यावहारिक र सिकाइ सीप प्रदान गरी उनीहरुमा राष्ट्रियता, संस्कृति र मानवीय मूल्यको विकासका लागि आधारशीला खडा गराउने कार्य गर्दछ । 

यस केन्द्रले बालबालिकाको शारीरिक, मानसिक, सामाजिक र संवेगात्मक विकास गर्न, बालबालिकाको स्वास्थ्य, पोषण र सरसफाइको स्थितिमा सुधार गर्न, उनीहरुलाई क्रियाशील बनाई सिर्जशील हुने कार्यमा  प्रेरित गर्न र प्राथमिक शिक्षाको तयारीका लागि सिक्ने क्षमतामा वृद्धि गर्ने कार्यमा महŒवपूर्ण भूमिका निर्वाह गर्दछ । प्रारम्भिक बालविकास केन्द्रको प्रभावकारिता तथा कार्यक्रमको गुणस्तर आर्थिक लगानी, सहजकर्ता, अभिभावक, कक्षा व्यवस्थापन, कक्षाकोठाको वातावरण, बालबालिकाको सञ्ख्या तथा सिकाइ सामग्रीमा निर्भर गर्दछ । आवश्यकताअनुसारको आर्थिक, भौतिक मानव स्रोतको उचित व्यवस्थापनको अभाव, पर्याप्त शैक्षिक सामग्रीको अभाव, अभिभावक तथा समुदायमा नै पूर्व प्राथमिक कक्षाको बारेमा ज्ञान र चेतनाको कमी, बालबालिकाको उच्च चापले गर्दा बालविकास केन्द्र अपेक्षाकृत प्रभावकारी बन्न सकेको छैन ।

सहयोगी कार्यकर्ताहरुका लागि उनीहरुको आफ्नो समय र श्रम अनुसारको उचित पारिश्रमिक तथा सेवाको सुनिश्चितता नहुँदा बारम्बार फेरबदल भइरहने प्रवृत्ति धेरै बालविकास केन्द्रमा देखिन्छ जसले गर्दा केन्द्रमा अध्ययन गर्ने बालबालिकाहरुको शैक्षिक गुणस्तर त्यति प्रभावकारी र उपलब्धिमूलक हुन नसकेको अवस्था छ । 

बालविकास केन्द्रलाई प्रभावकारी बनाई केन्द्रमा भर्ना भएका बालबालिकाहरुको सिकाइ अर्थपूर्ण बनाउन सरोकारवाला सबै पक्षले आ–आफ्नो ठाउँबाट चासो दिनु आवश्यक छ । यसका लागि कक्षा व्यवस्थापनलाई पहिलो शर्त मान्न सकिन्छ । बस्ने र सिक्नेठाउँको वातावरण उचित र बालमैत्री भएमा मात्र उनीहरु विद्यालय र सिकाइप्रति आकर्षित हुन्छन् । उनीहरुको उमेर खेलको उमेर हो । त्यसकारण खेलकै माध्यमबाट उनीहरुलाई विभिन्न व्यवहार र धारणा सिकाउनु पर्दछ । त्यसका लागि खेल सामग्रीहरुको पर्याप्त व्यवस्था गर्नु पर्दछ । विद्यालयका बालविकास केन्द्रमा धेरै संख्यामा बालबालिकालाई एउटै कोठामा राख्नु पर्ने बाध्यता रहेको छ । यसले गर्दा शिक्षण सिकाइ क्रियाकलाप व्यवस्थित गर्न गाह्रो पर्दछ । त्यसका लागि अलग–अलग समूह, कक्षाकोठा र सहयोगीको व्यवस्था गर्न सके केन्द्र थप प्रभावकारी हुन सक्दछ । 

अन्त्यमा, बालविकास केन्द्रलाई सामान्य कक्षाको रुपमा लिने मानसिकताले अहिलेसम्म प्रश्रय पाइरहेको छ, त्यो अत्यन्त त्रुटिपूर्ण छ । यसलाई संवेदनशील विषयको रुपमा लिएर बालमनोविज्ञानका आधारमा अवस्थाको विश्लेषण गरी उनीहरुका बीचमा क्रियाकलाप सञ्चालन गर्ने र गराउने वातावरणको सिर्जना गर्नु पर्दछ । त्यसमा विद्यालय व्यवस्थापन, प्रशासन, सहयोगी कार्यकर्ता, अभिभावक सबैले ध्यान दिन र पर्याप्त अनुगमन एवं मूल्याञ्कनको वातावरण तयार गर्न सके बालविकास कन्द्रले अपेक्षा गरेका उद्देश्य हासिल गर्न र बालबालिकाको शैक्षिक भविष्य उज्ज्वल बनाउन सकिन्छ । 


 

Share on Google Plus

About krishna Dhungana

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments :

Post a Comment

Thank you for your creative comment.