अभिभावकको भूमिका र अपेक्षा


बालबालिकाको भविष्य उनीहरुले प्राप्त गरेको शिक्षाको स्तरमा निर्भर रहन्छ । उनीहरुले जुन स्तरको प्रारम्भिक शिक्षा प्राप्त गरेको हुन्छ, सोही अनुसार विश्वविद्यालय तहमा आफूले चाहेको विषयमा राम्रो दख्खल हासिल गरी इच्छाएको क्षेत्रमा आफूलाई समायोजन गर्न सक्छन् । त्यसैले यसका निम्ति विद्यालय तहको शैक्षिक वातारवण कस्तो हुनुपर्छ, यो एउटा बहसको विषय हो । सबै बालबालिकाको लागि एउटै खालको वातावरणको अपेक्षा गरिएको हुँदैन । बालबालिकाले सिक्ने र सिकाउने कार्यमा विद्यालय र परिवारको भूमिका सबैभन्दा मुख्य हुन्छ । यसमा कस्को कति भूमिका भन्ने कुरामा सीमांकन गर्न त्यति सहज छैन । यद्यपी दुई पक्ष मध्ये कसको भूमिका पूर्ण छ र कसको पूर्ण भएन। यो अत्यन्त विवादित विषय हो । शैक्षिक हिसाबले मध्यम स्तरीय परिवारका अभिभावकहरु विद्यालय र शिक्षकको व्यवहार र विद्यालयको वातावरणलाई सिकाइ स्तर निर्धारणको कारकका रुपमा विश्लेषण गर्छन् भने र बालमनोविज्ञान र सामाजिक वस्तुस्थितिलाई सहि विश्लेषण गर्न नसक्ने शिक्षकहरु अभिभावक र विद्यार्थी अर्थात परिवारलाई सिकाइ स्तर निर्धारणको कारकका रुपमा विश्लेषण गरेर आ आफ्नो दायित्वलाई एक अर्कामा पन्छाउन तल्लिन रहेको देखिन्छ । 

दुई प्रकारको शैक्षिक संस्थाहरु संस्थागत र सामुदायिक सरकारी विद्यालयहरुको शैक्षिक व्यवस्थापन र सहभागिता भिन्न अवस्थामा छन् । संस्थागत विद्यालयहरु व्यवसाियकतालाई प्राथमिकता दिन तल्लिन छन्, लाभ अर्थात व्यवसाियक सफलताको अभिष्ट लिएर क्रियाशिल छन् । त्यकारण उनीहरु सामाजिक वस्तुस्थित र बालबालिका र अभिभावको मनोवृत्तिलाई बुझेर अनि मात्र आफ्ना गतिबिधि अगाडी बढाउँछन् । त्यसरी बनाइको योजना र रणनीतिहरुले अभिाभावकको मन तान्न सफल देखिन्छ । तर सामुदायिक विद्यालयहरु व्यवसायिक लाभप्रति लक्षित नभइ सेवामूलक, गैर नाफामूलक संस्थाको रुपमा क्रियाशिल छन् त्यसैले भौतिक लाभलाई महत्व दिने प्रवृत्तिको माझमा बालबालिका तथा अभिभावकको मनोवृत्ति र सामाजिक वस्तुस्थितिलाई बुझेर गतिबिधि अगाडी बढ्न नसक्नु स्वभाविक मान्न सकिन्छ । नाफा अर्थात लाभलाई लगानी र सक्रियताको उत्प्रेरक मानिन्छ, सामुदायिक विद्यालयहरुमा त्यो व्यवसायिक लाभ वा नाफाको उद्देश्य अन्तर्निहित नहुनाले संस्थागत रुपमा हुनुपर्ने बौद्धिक लगानी सुस्ताएको हो । केवल प्रतिष्ठालाई नै व्यवसायिक लाभको रुपमा सरोकारवालाहरुले लिनु पर्ने हुँदा प्राथमिकताको क्षेत्रमा नपर्नु स्वभाविक पनि मान्न सकिन्छ । हुन त शिक्षा सामाजिक विषय भएकोले यसको जिम्मेवारी राज्यले लिनुपर्छ भन्ने मान्यता छ । यो मान्यता स्थापित हुन सबै तहका सरकार बलियो हुनुका साथै कानुनी राज्य सुदृढ हुनुपर्छ, अहिले यहि कुराको अभाव छ । जसले गर्दा नै शिक्षा जस्तो सामाजिक विषय विशुद्ध सेवामूलक, पहुँचयोग्य र प्रभावकारी हुन नसकेको हो । 

हरेक अभिभावकले आफ्ना केटाकेटीलाई विद्यालय पठाउँदा केही न केही सपना बोकेर पठाएका हुन्छन् । जुन सपना बालकको मनोविज्ञान र अन्तरइच्छासँग मेल खाओस् वा नखाओस् । तर पनि अभिभावकहरु दुइवटा हिसाबले मनोवैज्ञानिक रुपमा ढुक्क हुन चाहन्छन् । पहिलो कुरा उनीहरुले बालबालिकाको शारीरिक सुरक्षा, दोश्रो उनीहरुको प्रकावकारी सिकाइ । सबै विद्यालयले यसलाई उत्तीकै चासोका साथ लिएको हुँदैन्, त्यसैले अभिभावकको हेराइ विद्यालय पिच्छे फरक हुन्छ । साना उमेरका बालबालिकाको सुरक्षित वातावरण र ठुला बालबालिकाप्राति नियन्त्रित वातावरण अभिभावकको मुख्य अपेक्षा देखिन्छ । तरपनि नियन्त्रित व्यवहार कुन हदसम्मको ठीक र कुन हदसम्मको बेठीक त्यो भने छलफलकै विषय हो । 

सरकारी सामुदायिक विद्यालयमा आफ्ना बालबालिका पढाउने अभिभावक मुख्यतः तनि प्रकारका छन् । पहिलो जो आफ्ना बालबालिकालाई छिमेकी आफन्तले सबैले पठाउने गरेकाले मैले पनि पठाउनु पर्छ भनेर मात्र विद्यालय पठाइरहेका, जसलाई पढ्नु पढाउनु बोझको रुपमा मात्र हुन्छ, यस्ता अभिभावकहरुले आफ्ना बालबालिकाको लागि न आवश्यक सामग्री नै जुटाइदिन्छन् न त विद्यालय जान नै प्रेरित गर्छन् । विद्यालयका नियमित गतिबिधिसँग उनीहरु निरपेक्ष रहन्छन् । दोश्रो थरी अभिभावक जो आफ्ना बालबालिकाले पढुन्, सिकुन् र भविष्यमा सक्षम बनुन् भन्ने चाहना राख्छन्, तर उनीहरुलाई कस्तो वातावरण दिने, कुन हदसम्मको नियन्त्रित व्यवहार अपनाउने र कसरी सहज सिक्ने वातावरण सिर्जना गर्ने भन्ने विषयमा अनविज्ञ हुन्छन् । उनीहरु विद्यालयले गरिहेका क्रियाकलापलाई उचित मूल्यांकन र विश्लेषण गर्न सक्षम पनि हँदैनन् । तेस्रो थरी अभिभावक जो सचेत र सक्षम हुन्छन् । उनीहरु आफ्ना बालबालिकालाई उपयुक्त वातारण दिन सक्षम छन्, आवश्यक सामग्री जुटाउन सक्रिय हुन्छन्, विद्यालयका गतिबिधिबारे उचित मूल्यांकन र विश्लेषण गर्न सक्छन् । 

सरकारी सामुदायिक विद्यालयमा पहिलो र दोश्रो वर्गका अभिभावकका आधारमा बनाइने गरेका समग्र अभिभावकप्रतिको धारणा सबैभन्दा प्रत्युत्पादक बन्ने गरेको छ । अभिभावक र विद्यालयबीचको सम्बन्ध बलियो र सार्थक बनाउने र अभिभावकको मनोवृत्तिलाई पनि सकारात्मक बनाउने दिशामा विद्यालयको भूमिका बृद्धि गर्नुपर्ने हुन्छ । यसले बालबालिकाको सिकाइ मात्र प्रभावकारी नभई अभिभावको बालबालिकाको निम्ति गर्नुपर्ने व्यवहार र दिनुपर्ने वातारवणमा पनि परिवर्नन आउन सक्छ । अनि अभिभावकहरु आफ्ना बालबालिका विद्यालय पठाएपछि भौतिक सुरक्षा एवं संरक्षण र प्रभावकारी सिकाइप्रति ढुक्क हुने अवस्था सिर्जना हुन सक्छ । 

x

कृष्णप्रसाद ढुंगाना 
प्रधानाध्यापक
श्री तेर्से मा.वि. तालामाराञ, सिन्धुपल्चोक 

Comments

Popular posts from this blog

माध्यमिक विद्यालय (कक्षा ९) स्तरीय शैक्षिक भ्रमण प्रतिवेदन २०६९

कार्यमूलक अनुसन्धान प्रतिवेदन

विद्यार्थीलाई नियमित गृहकार्य गराउन कसरी सकिएला भन्ने विषयमा गरिएको कार्यमूलक अनुसन्धान प्रतिवेदन