कार्यमूलक अनुसन्धान प्रतिवेदन

कृष्ण ढुंगाना,                  .

पारिवारिक कारणले विद्यालय छाड्ने निर्णयमा पुगेको विद्यार्थीलाई विद्यालयमा नियमित गराउन गरिएको एक
कार्यमूलक अनुसन्धान प्रतिवेदन :                                  .



अनुसन्धानको पृष्ठभूमिः 

विद्यार्थीले विद्यालय छाड्नुको दोष स्वयं विद्यार्थीलाई नै दिएर अन्य पक्षप्रति चासो नदिने प्रवृत्ति प्रसस्तै छ । उनीहरु विभिन्न पारिवारिक, सामाजिक आदि कारणले विद्यालय छाड्न पुग्छन् भन्ने तर्फ कमैको मात्र ध्यान पुगेको देखिन्छ । आफ्नो विद्यालयमा पनि यसरी बिचमै विद्यालय छाड्ने विद्यार्थीहरुको संख्याउल्ल्ेख्य रहेकोले यसै विषयमा कार्यमूलक अनुसन्धान गर्ने सोच बढ्यो । 
विद्यालयले विगतका वर्षहरुमा झैं विद्यालयले आयोजना गरेको घरदैलो अभियानका क्रममा म आफ्ना एकजना सहकर्मी शिक्षकका साथ विद्यार्थीहरुको पारिवारिक, आर्थिक र शैक्षिक अवस्थाका बारेमा बुझ्न उनीहरुको घरघरमा गएको थिएँ । घरदैलो अभियानका क्रममा हामीले जिम्मेवारी पाएको क्षेत्रमा जाने क्रममा एक जना विद्यार्थीको पारिवारिक अवस्थाको बारेमा हामीले उनको मिल्ने एकजना साथी मार्फत धेरै कुराको जानकारी पायौं । उनी विद्यालय आउन छाडेको ५ दिन भइसकेको हुँदा मलाई उनको बारेमा यस अघि नै चासो बढेको थियो । मेरो मनमा उठ्यो कि अब उनको घरमा गएर उनलाई नियमित विद्यालय ल्याउन कसरी सकिन्छ । यही विषयले मेरो मष्तिष्कमा घर बनाइरह्यो । सहकर्मी शिक्षकका साथ म उनको घरमा पुगें अनि आफैंले उनका विषयमा सबै कुराको बारेमा जानकारी लिइ उनलाई विद्यालयमा नियमित कसरी गराउन सकिन्छ भनेर सोच्दै यो कार्यमूलक अनुसन्धानको प्रक्रियालाई अगाडी बढाइएको हो ।  
पहिलो चरण
१. योजना ः 
पाँच दिनदेखि विद्यालय आउन छाडेकी छात्राको पारिबारिक अवस्था विश्लेषण गरी सोही अनुसार परामर्श गरी उनलाई नियमित विद्यालय आउन सक्ने वातावरण तयार गर्ने ।
२. क्रियाकलाप ः 
विद्यालयमा यसै वर्ष मात्र अर्को विद्यालयबाट कक्षा ८ उत्तीर्ण गरी कक्षा ९ मा विद्यालयमा भर्ना हुन आएकी नेमो सान्मो लामाको घरमा जब म र सहकर्मी शिक्षिका सहितदुई जना त्यहाँ पुग्यौं त्यस अघि नै उनको साथी मार्फत थाहा भइसकेको थियो कि उनी पढाइ छाड्ने चरणमा पुगिसकेको र ५ दिनदेखि विद्यालय गएकी पनि थिइनन् । हामी पुग्दा उनको घरमा उनी मात्र थिइन् । हामीलाई देखेपछि उनी केही लज्जीत हुँदै तल आइन् । हामीले उनलाई बस्न र लाज नमानीकन बोल्न सहजीकरण गर्यौं । उनलाई सोध्यौं स्कुल नगएको ५ दिन भएछ नि किन, के समस्या पर्यो घरमा ? उनले मलिन स्वर बनाएर ममी बिरामी हुनुहुन्थ्यो घरमा भैसीलाई घाँसपानी गर्ने कोही थिएन त्यसैले नगएको उनले बताइन् । पल्लोघरबाट उनको हजुरआमा आउनुभयो अनि हामीले हजुरआमासँग उनको र परिवारको बिबिध कुराहरु सोधीखोजी गर्यौं । मैले आफु र निज नेमो सान्मोको बुबा सुन लामा सँगसँगै मानेभञ्ज्याञ स्कूलमा कक्षा ५ सम्म पढेको कुरा बताएपछि उहाँले धेरै कुराहरु खुलेर गर्नु भयो सायद आफ्नै छोरो जस्तै ठानेर होला । 
अवस्था बुझदा केही समय अगाडीदेखि नेमो को बुबा सुनलामाको केही मानसिक समस्या सुरुभएको रहेछ । सोको उपचार गर्ने विषयमा कुरा हुँदा हुँदै २ महिना अगाडी उनले विष सेवन गरी आत्महत्या गरे । घरमा उनकी आमा, एउटा दाजु जो काडमाडौंमा बस्छन् र एउटा कक्षा ३ मा पढ्ने भाइ गरी ४ जना छन् । आमाको नेतृत्वमा घर चलाउने बाध्यताको सुरुवात भयो बिगत २ महिनादेखि । अमालाई ग्याँस्टिकले निकै चापेको हुँदा बिरामी भइरहने समस्या । अब घरमा केही काम गर्न सक्ने केबल नेमो मात्र । उनको हजुरआमाबाट यो थाहा भयो कि विद्यालय नगएको ५ दिनको पहिलो दिन उनलाई स्कूल जाऊ भनेर उनको आमा र हजुर आमाले भन्दा लामो समय आँगनको छेउमा उभिएर रोएर बसेको कुरा थाहा भयो । अगाडी दिनहरुमा पनि उनको यस्तै व्यवहार हुने गरेको तथ्य पनि हामीले थाहा पायौं । हाम्रो ध्यान अब त्यही विषयमा खोजिनीति गर्ने तर्फ गयो । हामीले उनलाई सोध्यौं ः तिमीलाई स्कूल जाने, पढ्ने विषयमा के भएको छ, तिम्रो समस्या के हो ? उनले आफ्ना सबै कुरा राख्दै गइन् । उनले भनिन् ः “मलाई स्कुल जान इच्छा त छ तर घरमा बुबा पनि नभएको, आमा सधैं विरामी भइरहने त्यसले गर्दा आफूलाई मन थाम्न गाह्रो हुन्छ । आफ्नो व्यथा र बुबाको यादले होला ममी बेलुका सधैं रोएको देख्छु अनि मेरो मन कस्तो कस्तो हुन्छ । बुबाको त माया पाइएन नै आमाको पनि नपाउने हो की भन्ने कुरा मनले सोच्छ । खेतीपाती भैंसी बाख्रा कसले हेर्ने, कसरी सबै कुराको जोहो गर्ने सम्झदा कता कता भारी हुन्छ । कहिले काँही आमाले तँ पनि पढ्न जाने, भाइ सानो दाजु काडमाडौंमा मैले कसरी घरको काम धान्ने त्यस माथी सधैं बिरामी भनेर भन्नुहुन्छ । त्यसले गर्दा मलाई मैले पढाइ कहिले सम्म गर्न सक्छु र पढेर पो के गर्नु र भन्ने जस्तो लाग्छ । पढाइका कुरा भन्दा घरका कुराले मात्र दिमागलाई सताउँछ ।” 
उनका यस्तै यस्तै गुनासाहरु सुन्दै जाँदा त्यतिबेला सम्म उनको हजुरआमा र उनीबीच छलफल गरिरहेका थियौं । उनको आमा दाउरा काट्ने खातालासँग बारीमा गएको हुनाले उहाँसँग पनि कुरा गर्ने बिचार उठ्यो । केही बेर पर्खिएपछि उहाँ आइपुग्नु भयो । उहाँसँग सबै कुरा गर्यौं । उहाँले पनि स्वीकार गर्नुभयो किः छोरीले बेला बेला चिन्ता मानिरहेको अनि स्कूल जानेबेला आँगनमा उभिएर रोइरहेको । “खेतबारी त खान लाउन पुग्ने नै छ । तर गर्ने मान्छे र मिलाउने मान्छे नहुँदा त्यसले काम गर्दो रहेनछ । ” यही गुनासो उहाँले पोख्नु भयो । 
हामीलाई प्रष्ट भयो त्यहाँ नेमोमा आत्म विश्वास जागृत गर्नु आवश्यक छ । उनको आमामा पनि त्यस्तै आत्मविश्वासको खाँचो छ । आखिर जे हुनु त भैसक्यो । भइसकेको कुरालाई लिएर चिन्ता गर्ने होइन अब बाँकीले कसरी के गर्ने भन्ने बारेमा सोच्नु पर्छ । चिन्तालाई सकेसम्म बिर्सन कोसिस गर्नुपर्छ भनेर सम्झाउन खोज्यौं । यतिसम्मको छलफल चलिरहदाँ त्यहाँ टोलभरीका मान्छेहरु लगभग ८,१० जना जम्मा भइसकेको थिए । सबैमा सहानुभतिको भाव थियो । पढाइ छाडिन् भने केही समयमा नेमोले बिहे गर्लिन् । आखिर आमालाई त उस्तै त हो घरको काम भन्ने आवाज उनको ठूलोबुबाबाट उठ्यो । त्यसले हामीलाई एउटा गतिलो तर्क सहित उनको आमालाई सम्झाउने आधार बन्यो र हामीले उनको आमालाई भन्यौं । नेमोले यस वर्ष पढाइ छाडिन् भने उनको बिहे हुने पक्का छ । सधैं उनी त यही घरमा बस्न सामाजिक हिसाबले पनि सक्दिनन् । जसरी पनि तपाई उनको कामबाट त टाढिने नै हो त्यसकारण उसलाई पढ्न नै पठाउनु भयो भने उनले अहिले पाउने घर र पढाइपछि पाउने घरमा धेरै फरक हुन्छ । अहिले विदेश जानु पर्यो, शहर जानु पर्यो भने पनि पढाइ लेखाइ राम्रै भए मात्र सजिलो हुन्छ । छोरीको बिहे भइसक्यो ठानेर भने पनि छोरीलाई घरको काममा आशा नगर्नुस् । यस्तै यस्तै भन्दै गयौं । बीचमा उनकी आमाले थप्नु भयो भन्न त छोराले पनि भैंसी नपाल, खेती पनि नसक्ने जति बाँझै होस् । खान पुग्ने मात्र गरौं । बहिनी पढ्न जाओस् भनेको छ । हामीले पनि यही कुरा उचित देख्यौ । नेमोको पढाइका लागि यसरी नै घरको व्यवस्था मिलाउने सल्लाह हामीले दियोैं । 
सबै छलफल भइसके पछि फेरी नेमोको धारणा लिने काम भयो । उनले घरबाट आउन जान २ घण्टा भन्दा बढीलाग्छ । अब अर्को महिनाबाट तल कोठा मिलाउन पाए सजिलो हुन्थ्यो । मलाई पढने इच्छा मरेको छैन । आइतबारबाट नियमित स्कुल आउँछु । ५ दिन छुटेकोमा चाँही कक्षा शिक्षक विज्ञान सरसँग कुरा गरिदिनुहोला भनिन् । हामीले पनि उनलाई पढाइ हुँदा र नहुँदाको जीवनका बारेमा सम्झाउने प्रयत्न गर्यौं र उनलाई निर्धक्क भएर स्कूल आउन े विषयमा पनि विद्यालयले सहयोग गर्ने, स्कूलमा तिर्ने फि र अन्य कुनै सामग्रीको कारण समस्या परेमा हामीलाई खुलेर भन पैसाको कारण तेर्से माविमा पढ्न रोकिने छैन भनेर विद्यालयको तर्फबाट प्रतिवद्धता गर्यौं । पढाइ छाड्नै पर्ने अवस्था आएमा कमसेकम एकपटक फोन मात्रै भनेपनि गर समाधान पक्कै पहिल्याउन सकिन्छ भनी आफ्नो फोन नं. समेत टिपायौं ।  
लक्षित छात्रा नेमो सान्मो लामाको घरायसी सबै अवस्थाको बारेमा जानकारी लिने काम भयो । यसका आधारमा उनको परिस्थितिलाई अध्ययन र विश्लेषण गर्दा उनका आत्मविश्वासको कमी भएको महसुस भयो । पढाई कुनै हालतमा नछोड्न र छोड्नै पर्ने परिस्थिति सिर्जना भएमा त्यस अघि परिस्थितिका बारेमा जानकारी दिन अनुरोध गरियो । यसबाट उनमा विद्यालय नियमित रुपमा आउने सोच बढेको पाइयो र हामी त्यहाँबाट फर्कियौं । 
३. अवलोकनः 
उक्त दिन विद्यार्थीको बारेमा सबै बुझेर उनको समस्यामा सान्त्वना दिइ आत्मविश्वास र मनोबल बढाउने प्रयत्न भउको पछि भोली पल्ट शनिबार परेकोले पर्सीपल्ट आइतबार विद्यालय गएर उनी आए नआएको बुझियो । कक्षाकोठामा हेर्दा उनी आफ्नो छिमेकी साथीसँग बसेको दखियो यसपछि उनलाई मैले व्यक्तिगत रुपमा केही समस्या छ भनेर सोध्दा उनीले कुनै समस्या नभएको ब्यहोरा बताइन् । केही दिनसम्म मैले उनको विद्यालयमा हुने नियमितता बारेमा बेलाबेलामा जानरकारी पनि लिँदै गरेको थिएँ । पहिलो त्रैमासिक परीक्षामा राम्रैसँग सहभागी भइ लगातार विद्यालय आएको पाइयो । पढाइमा उत्साह बढ्नुका साथै उनले विद्यालयले आयोजना गरेको अतिरिक्त क्रियाकलापहरुमा पनि सक्रियतापूर्वक सहभागिता देखाएको पाइयो । 
४. प्रतिबिम्बन ः 
विद्याथीहरु बिबिध पारिबारिक, आर्थिक तथा अन्य व्यवहारिक कारणले गर्दा नियमित विद्यालय नआउने र आइहालेपनि बीचमै पढाइ छाड्ने प्रबृत्ति हाम्रा विद्यालयहरुमा धरै छ । यदि उनीहरुको अवस्थाको बारेमा शिक्षकले जानकारी लिइ त्यसका लागि उनको समस्यामा साहनुभुति दिँदै उनीहरुको आत्मविश्वास र मनोबल बढाउन सकेको खण्डमा उनीहरलाई नियमित विद्यालय आउने वातावरण तयार गर्न सकिन्छ । 

निश्कर्ष ः 
प्रस्तुत कार्यमूलक अनुसन्धानमा पहिलो चरणको क्रियाकलाप सम्पन्न गर्दा उक्त विद्यालय छाडिसकेको विद्यार्थी नियमित विद्यालय आउन थालेको र उसले कक्षामा देखाउने शैक्षिक व्यवहार पनि उत्साहजनक देखिएको हुँदा यो अनुसन्धान सफल भएकोले पुनर्योजनाको प्रक्रिया अगाडी बढाउन आवश्यक देखिएन । विद्यार्थीहरु विभिन्न पारिवारिक पृष्ठभूमिबाट आएका हुन्छन् । उनिहरु मध्ये कतिपय बीचमै पढाइ छाढ्ने समेत गरेका हुन्छ तर किन पढाई छाडे भन्ने कुरालाई नजिकबाट बुझेर त्यसको मनोवैज्ञानिक उपचार गर्नु एउटा प्रभावकारी शिक्षकको जिम्मेवारी हो । यसरी उनीहरुको विभिन्न पक्षहरुको बारेमा जानकारी लिइ उनीहरुमा रहेको समस्याका बारेमा शिक्षकले बुझेर उसलाई उचित व्यवहार र मनोवैज्ञानिक उपचार गर्न सकेको खण्डमा उसले बीचमै पढाई छाड्ने वा विद्यालय नै नजाने सम्स्यालाई समाधान गर्न सकिन्छ भन्ने निश्कर्ष यस अनुसन्धानले दिएको छ । 

समाप्त

Share on Google Plus

About krishna Dhungana

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

3 comments :

  1. सरहानिय कामका लागि धन्यवाद कृष्ण सर

    ReplyDelete
  2. Hello sir action research ko aru topic haru Pani halidinuna

    ReplyDelete
  3. धेरै राम्रो काम🙏🙏🙏

    ReplyDelete

Thank you for your creative comment.